दफा ४०क
बिमा सुविधासम्बन्धी व्यवस्था
(१) निजामती कर्मचारीको बिमाबापत नेपाल सरकारले एउटा सावधिक जीवन बिमा कोष स्थापना गर्नेछ ।
(२) प्रत्येक निजामती कर्मचारीको मासिक तलबबाट दुई सय रुपैयाँ कट्टा गरी उपदफा
(१) बमोजिमको कोषमा जम्मा गरिनेछ र त्यति नै रकम नेपाल सरकारले थप गरी बिमांक रकम एक लाख रुपैयाँको बीसवर्षे सावधिक जीवन बिमा गरिदिनेछ । सो बिमा कोषमा जम्मा भएको रकममध्येबाट कर्मचारी सेवा निवृत्त हुँदा निजलाई बिमांक रकम र बोनस भुक्तानी दिइनेछ ।
(३) उपदफा (२) बमोजिम रकम कट्टा गर्न सुरु गरेको बीस वर्ष अवधि नपुगी कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको परिवारले एक लाख रुपैयाँ पाउनेछ । कुनै निजामती कर्मचारी सेवाबाट अनिवार्य अवकाश भएमा देहायबमोजिमको रकम प्रदान गरिनेछ –
(क) एक वर्षभन्दा कम अवधिको रकम कट्टी गरिएको भएमा दस हजार रुपैयाँ,
(ख) एक वर्षदेखि पाँच वर्षसम्म रकम कट्टी गरिएको भएमा पच्चीस हजार रुपैयाँ,
(ग) पाँच वर्षदेखि दस वर्षसम्म रकम कट्टी गरिएको भएमा पचास हजार रुपैयाँ,
(घ) दस वर्षदेखि पन्ध्र वर्षसम्म रकम कट्टी गरिएको भएमा पचहत्तर हजार रुपैयाँ,
(ङ) बीस वर्षसम्म रकम कट्टी गरिएको भएमा एक लाख रुपैयाँ ।
तर निजले जम्मा गरेको रकम र सोको ब्याज लाभांश रकम उल्लिखित रकमभन्दा बढी हुन आएमा सोही बराबरको रकम उक्त कोषबाट प्रदान गरिनेछ ।
(४) कुनै निजामती कर्मचारीले उपदफा (२) बमोजिम रकम जम्मा गर्न सुरु गरेको बीस वर्ष नपुगी अनिवार्य अवकाश भएको अवस्थामा बाहेक अन्य जुनसुकै किसिमबाट सेवाबाट अलग भएमा त्यस्तो कर्मचारीलाई समर्पण मूल्य बराबरको रकम उपलब्ध गराइनेछ ।
(५) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजामती सेवाबाट अवकाश हुने कर्मचारीले सावधिक जीवन बिमाबापत जम्मा गरेको रकम बीस वर्ष वा सोभन्दा कम अवधिमा परिपक्व हुने गरी निरन्तरता दिन सक्नेछ ।
तर सोबापत नेपाल सरकारले कुनै रकम व्यहोर्ने छैन ।
(६) सावधिक जीवन बिमा कोषसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।